समय र काम

'नगरी काम पुग्दैन खान साझ र बिहान' हाे यही भनाईको प्रतिविम्ब याे दृश्यमा देखिएको छ। बेलुकाकाे आठ बजेकाे हुदों हाे, ठ्याक्कै समय त थाहा भएन। सवारीसाधनहरु एकोहोराे कुदी नै रहेका थिए। न-कुदुन् पनि किन? समयले नेटो काटिसकेको थियो। यी कुदाईमा काेही काम सकेर घर जाँदै थिए भने काेही काममा जाँदै थिए। यही कुदाईका बीच भने एक काम चलिरहेकाे थियाे। तीनजना व्यक्तिहरू आफ्नाे काम गरिरहेका थिए। उनीहरुलाई अरुकाे कुदाईकाे कुनै मतलव थिएन आफ्नै सुरमा थिए। कथा भित्रका अनेकौं व्यथा बाेकेकाे याे सहरकाे दृश्य काठमाडौंका गल्ली-गल्लीमा बेलुकीपख बग्रेल्ती देख्न सकिन्छ।

रात्रिकालीन रङ्गीन सडकमा यी सादा जीवनले आफ्नाे जीवन रङ्गाउन प्रयत्नरत थिए। दिनभरिकाे धुलाेले ढाकेकाे ट्राफिक बुथलाई ऊनीहरु नयाँ रुप दिदैं थिए। यसरी, यी बुथलाई नयाँ रुपदिने कतिकाे जीवन पुरानाे हुँदै आयो होला?

0 Comments