शे-फाेक्शुन्डाे ताल वरिपरि सयर गरिसके पछि तालकाे भ्यु-पाेईन्ट जाने निधाे गरेर हामी अगाडि बढ्यौं। तालकाे किनारै-किनार हाम्राे पाईलाहरु लम्किरहेका थिए। अगाडि दुईवटा बाटाे आयाे हामी गलत बाटाे लागेछौँ। अलि पर पुगेपछि बाटाे सकियाे। माथि उकालो जाने त हाे भनेर ठाडै उकालाे लागियाे। उकालाे बल्लतल्ल पार गरियाे। एकछिन थकाई मारेर तेर्साे लागियाे। तेर्साे लागेकाे केही समय पछि एकजना बाजेसंग भेट भयाे। पिठ्युंमा दाउराकाे भारी अनि शिरमा ह्याट-टाेपी लगाएका बाजेकाे अनुहारमा भने छुटै चमक थियाे। बाजेसंग केहीबेर भलाकुसारी गरी बाटाे साेधेर हामी फेरी उकालाे लाग्यौं। बाजे भने ओरालाे लागे। बाजेले हामीलाई बाटाे अप्ठ्यारो भएकाले सम्हालेर हिड्नु भनेकाे हुनाले हामीहरु उनकाे अनुशरण गर्दै उकालाे चड्यौं। केही घण्टाकाे सफर पछि भ्यु-पाेईन्ट पुगियाे।
तलबाट गाेलाकार देखिएकाे फाेक्शुन्डाे ताल यहाँबाट लाम्चाे वाई आकारकाे पाे देखियाे। एउटै तालकाे फरक रुप देखेर हामी दङ्ग पर्यौं। बाटाे बिर्सिएर भौंतारिएका हामीलाई बाजेले सही बाटाे देखाईदिए। उनै बाजेलाई सम्झिदैं हामी ओरालाे लाग्यौँ। साँझपख ताल नजिकैकाे हामीले बुक गरेकाे हाेटलमा आई पुग्यौँ।

0 Comments