बिहानीपख आराध्यदेव भगवान पशुपतिनाथकाे दर्शन गरेर पूर्वमा मृगस्थली पट्टीमा रहेको कुर्सीमा बसी एकछिन मन बहलाउँदै थिएँ। दर्शन र मर्निङवाक् गर्न आउनेहरुकाे जमात बढ्दै थियाे। मर्निङवाक् आउनेहरु काेही बसिरहेका थिए त काेही शारिरिक अभ्यास गर्दै थिए। स्वस्थ रहनु सबैकाे चहाना हाे। त्यसैले हाेला अचेल मर्निङवाक् गर्नेकाे संख्या दिनानुदिन बढ्दैछ। मर्निङवाक् गर्नेहरुका-लागि पशुपतिक्षेत्र उपयुक्त रहेकाे छ। एकछिनकाे बसाई पछि मृगस्थलीबाट सिंढी चड्दै विश्वरुपा र गाेरखनाथ मन्दिर परिसरतिर लागें। त्यहाँ मर्निङवाक् गर्नेहरुकाे बाक्लाे उपस्थिति रहेछ । शान्त वातावरणमा याेगा गर्नेहरुकाे पनि तीन/चार वटा समूह देखें। अलिक पर मान्छेहरुकाे भीड लागेकाे थियाे। के रहेछ बुझ्ने ईच्छाले त्यतातिर लागें। त्यहाँ जमराकाे जुस बेच्न राखिएकाे रहेछ। स्वास्थ्यवर्धक भएकाेले हाेला भीडमा उपस्थित ७०% मानिसहरु जुस पिउँदै थिए।

0 Comments